समृद्ध नेपाल बनाउन कस्तो शिक्षा चाहिन्छ ?

नेपालमा शिक्षा विकासको इतिहास त्यति लामो छैन् । वि स २००७ सालको राजनैतिक परिवर्तन पछि मात्रै सार्वजनिक शिक्षाको विकास तिव्रगतिमा भएको पाइन्छ । राजनैतिक परिवर्तनले शिक्षालाई समयानुकुल परिवर्तन मात्रै गरेन शासकको शासन चलाउन सहयोगी बनाएको इतिहास साक्षी छ । वि स २००७ साल पछि नेपालमा शिक्षा नामक प्रतिवेदन २०११ ले प्रजातन्त्र अनुकुलको शिक्षा प्रणाली बनाउन सहयोग गर्ने शिक्षा बनाउन सिफारिस गरेको थियो । यस पछिका घटनाक्रमलाई हेर्दा २०१७ साल पछि निर्दलिय पञ्चायति ब्यबस्था अनुसार आवश्यक पर्ने जनशक्ति तयार गर्न शिक्षामा परिवर्तन गरियो । वि स २०२८ देखि २०३२ राष्ट्रिय शिक्षा पद्धतिको योजनामा शिक्षामा आमुल परिवर्तन गरेर सिपमूखी शिक्षा दिने ब्यबस्था गरिएको थियो । वि स २०४७ सालमा प्रजातन्त्रको पूर्णवाहाली पछि शिक्षामा परिवर्तन गरियो । एवम रुपमा वि स २०६३, वि स २०७५ तथा २०७६ मा शिक्षामा परिवर्तन गर्न शिक्षा नितिमा परिवर्तन, शैक्षिक संरचनामा परिवर्तन, पाठ्यक्रममा परिवर्तन गरिएको छ । यस परिपेक्षमा सरकारको लगानी तथा दातृ निकायको पनि सहयोग रहेको छ ।

नेपालको साक्षरता वि स २००७ मा २ प्रतिशत रहेकोमा अहिले नेपाल करिब पूर्णसाक्षर बन्ने तयारीमा पुगेको छ । नेपालको शैक्षिक क्षेत्रमा भएको विकासलाई हेर्दा शिक्षा क्षेत्रको विकास सन्तोषजनक रहेको छ । वर्तमान सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारा अगाडि सारेर शिक्षा प्रणालीमा परिवर्त गरिरहेको छ । नेपालको संविधानमा नै शिक्षालाई मौलिक हकमा राख्नुले सरकार शिक्षा क्षेत्रको विकास गर्न लागि परेको कुरामा कुनै संका छैन् । तथापी कस्तो शिक्षा प्रणाली अवलम्बन गर्ने, विद्यालय तहमा के पढाउने, के सिकाउने, कसरी सिकाउने, किन सिकाउने, के सिकाउँदा के हुन्छ आदि प्रश्नको जवाफ आमरुपमा दिने शिक्षा हुनुपर्दछ । शिक्षा देशको अवस्था झल्काउने ऐना हो, विकासका पुर्वाधारको पनि पुर्वाधार हो । शिक्षाले ज्ञान, सिप, दक्षताको विकास गर्दछ । हामीले अहिले लिएको वा दिएको शिक्षा आजका लागि मात्रै होइन् । अहिले अर्थात वि स २०७६ मा कक्षा १ मा अध्ययन गर्ने मानिस ६ वा ७ बर्षको हुन्छ । उ नियमित रुपमा पढाइ पुरा गर्दै जाँदा वि स २०८८ मा विद्यालय तह, वि स २०९३ मा स्नातक, वि स २०९६ मा स्नातकोत्तर तह पुरा गर्नेछ ।

अहिले हामीले राखिएका शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत सक्षमताहरु र उक्त मानिसले सिकेको ज्ञान तथा सिप वि स २०९६ सालको लागि उपयोगि हुन्छ कि हुदैन् ? त्यतिबेला नेपालमा कस्तो प्रकृतिका कार्य सम्पादन गर्नु पर्ला ? कस्तो सिप भएको जनशक्ति चाहिएला ? रोजगारीका क्षेत्रहरुको विकास कस्तो होला ? प्रविधिको विकास कुन अवस्थामा पुग्ला ? आदि प्रश्नको जवाफ अहिले दिन सएिन्छ कि सकिदैन् ? यी अत्यन्तै दुरगामि, दुरदृष्टि राख्ने महत्वपूर्ण प्रश्नहरु हुन । हामि जसले शिक्षा निति बनाउँछौ, शिक्षाका ऐन, नियम बनाउँछौ, शिक्षाको रुपरेखा तयार गर्छौ, त्यसै अनुसारको पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन प्रक्रिया तयार गर्छौ । यी प्रश्नको बारेमा सोच्छौ होला । नसोचेर त कहाँ शिक्षा विकासका कार्यक्रम तयार हुन्छ र ? तर हामी जति दुरगामि सोच राख्छौ त्यो भन्दा बढी प्रविधिको विकास, मानविय आवश्यकतामा बृद्धि हुन्छ । के अहिले हामीले शिक्षामा गरिरहेको विकास प्रयाप्त छ त ? विश्वका विकसित देशसँग हामी प्रतिशप्रर्धा गर्न सक्षम छौ त ? यो महत्वपूर्ण सवाल हो । त्यसैले माथि उठान गरिएका प्रश्नको जवाफ दिन हामि तयार हुनुपर्दछ । यदि यस्ता प्रश्नलाई नसोच्ने हो भने के समृद्ध नेपाल बनाउने हाम्रो सपना पुरा होला ? हुदैन । नेपाललाई समृद्ध बनाउन हामी सबै पक्ष तीन तहका सरकार, विभिन्न क्षेत्रमा रहेका राष्ट्रसेवक, जनता आ आफ्नो ठाउँबाट जुट्नु पर्दछ ।

के सिकाउने र कसरी सिकाउने ? हाम्रो देशका विश्वविद्यालय देखि विद्यालय तहका पाठ्क्रम ज्ञानमा आधारित छन् । अक्कल नपुगेको नक्कल गरेर विषयबस्तु छनोट गरिएका, नयाँ विश्वविद्यालय स्थापना गर्ने तर पाठ्क्रम उहि पहिले नै चलेका विश्वविद्यालयका जस्तै विषयवस्तु जिकज्याक्क पारेका वा आंशिक रुपमा परिवर्तन गर्ने गरेको पाइन्छ भने विद्यालय तहमा पाठ्यक्रम परिवर्तनको नाममा विषयवस्तु थुपार्ने, साधारण प्रकृतिका विषयवस्तुलाई प्राथमिकता दिने, विद्यार्थीको रुचि, चाहाना, क्षमता अनुसारको लचिलो नभएर कठोर पाठ्यक्रम राख्ने गरिएको छ । सिप सिकाउने शिक्षा अबको आबश्यकता हो । त्यसका लागि पाठ्क्रममा आमुल परिवर्तन गर्नु अपरिहार्य छ । विषयवस्तु कम राखौ तर प्रयोग गर्ने, परीक्षण गर्ने, सिप सिकाउने शिक्षण प्रक्रिया अवलम्बन गरौ । हप्तामा २ घण्टा सैद्धान्तिक र बाँकि ४ घण्टा प्रयोगात्मक रुपमा प्रयोगशालामा सिकाउने गरेर पाठ्यक्रम तयार गरौ । किनकी घोकेर लेख्नु पनि नकल गर्नु जस्तै हो । अझ भनौ कण्ठ गरेर लेख्नु र हेरेर सार्नुमा उस्तै जस्तो हुन्छ किनकी यी दुबै आफ्ना सृजना होइनन् । सृजना त तब आउँछ जब प्रयोगात्मक रुपमा परिक्षण गरेर प्रमाणित ज्ञान तथा सिप हाँसिल हुन्छ । विद्यार्थीको मौलिकपना मापन गर्ने, सिप परिक्षण गर्ने मूल्यांकन प्रक्रिया अपनाइन्छ । अतः विषयवस्तु छनोटमा ध्यान दिनुपर्दछ, विद्यालयको भौतिक अवस्थामा सुधार गर्नु पर्दछ, आवासिय विद्यालय बनाउनु पर्दछ, शिक्षक तालिमको ब्यबस्था गर्नु पर्दछ । विश्व विद्यालयको शिक्षा अनुसन्धानमुखी बनाउनु पर्दछ । निश्चित क्षेत्रमा विशेषज्ञाता हासिल गरेका जनशक्ति उत्पादन गर्नुपर्दछ ।

अतः नेपालको विद्यालय तह देखि विश्वविद्यालय तहको पाठ्यक्रम, शिक्षण प्रक्रिया, मूल्यांकन पद्धति परिवर्तन गरि प्रयोगात्मक, ब्यबहारिक, जीवनोपयोगी, सिपमुखि विषयवस्तु राख्ने, देशको कुन कुन क्षेत्रमा कस्ता जनशक्ति आवश्यक गर्ने हो सोही अनुसार पाठ्क्रम परिवर्तन गर्ने, खोजमूखी, अनुसन्धानमुखी, आविष्कारमुखी शिक्षा बनाउने, नेपालको मौलिक शिक्षा प्रणाली विकास गर्ने, स्थानीय सरकारलाई बढी उत्तरदायि बाउने प्रदेश र केन्द्रले सहयोग गर्ने गरेर भविश्यको लागि उपयूक्त शिक्षा दिनुपर्दछ । अन्यथा शैक्षिक बेरोजगार बढ्ने, आबश्य पर्ने जनशक्ती विदेशबाट ल्याउने, नेपाली खाडीमा काम गर्न जानु पर्ने हुनसक्छ । अहिले नै शैक्षिक क्षेत्रमा दुरगामि सोच राख्नु पर्दछ ।

Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *